आज यस “मैले वीरगञ्जमा (गाडी मर्मत गर्ने) काम गरें, रोल्पामा काम गरें, भालुवाङमा काम गरें, चितवनमा काम गरें, सबैतिर काम गरेको छु । सवै ठाउँको भाषा संस्कृति बुझेको छु, आफ्नै ठान्छु। मलाई कहिँ जान डर लाग्दैन। डर लागेको भनेको जीवनमा एक पटक मात्र छ।
भालुवाङमा माओवादी युद्धको वेला काम गरिरहेको थिएँ । ठूला भीडन्त भएको वेला म त्यहीँ काम गरिरहेको थिएँ । कयौं लाश मेरै अगाडि उठाएर लगेको देखें । जब गोली चल्न थाल्थ्यो तब हामी भूईँमा सुत्थ्यौं, ‘टाइल’को घर थियो, ढ्वाररर~~~ गरेर हल्लिन्थ्यो ।
माओवादी आउँथ्यो पानी तताउ भन्थ्यो, त्यसपछि आर्मी आउँथ्यो, फेरि पानी तताउ भन्थ्यो अनि फेरि प्रहरी र सशस्त्र प्रहरी… त्यो बेला हो डर लागेको।
आज तपार्इं भालुवाङ पुग्नुहुन्छ, त्यहाँ सिधै सम्पर्क जानुहोस् र जीतवहादुरको होटल् सोध्नुहोस् । वीरगञ्जे कान्छोले पठाएको भनेपछि १०० रूपैयाँमा खाने वस्ने व्यवस्था गरिदिन्छन्, आफ्नो नाम त्यसरी चलेको छ । [हाँस्दै] अब तपार्इंले हाम्रो काठमाण्डौबाट आएर सम्मान गरेपछि सहयोग त गर्नैपर्यो।”
(चन्द्राैटा, कपिलवस्तु)