“मजबूरीको नाम महात्मा गान्धी” २ वर्षदेखि यो काम गर्दैछु । मान्छेलाई आफ्नै घरको फोहोर देख्दा त घृणा हुन्छ आफू त शहरभरिको फोहोरसङ्ग मिल्नुपर्छ तै पनि बिरामी परिन्न । अहिलेसम्म कुनै स्वास्थ्य समस्या आएको छैन, बानी परेकोले होला ।
दिनदिनै ४०० देखि ५०० घरसम्मको फोहोर उठाउनुपर्छ । सबेरै उठ्छु, दिनभर फोहोर उठाउँछु । दिउँसो घर (प्रगतिनगर) जान्छु र खाना खान्छु। त्यसपछि फेरि सङ्कलनमै हिँड्छु । आज श्रीमती पनि घर फर्कने बाटो मिलेकाले सङ्गै छिन् । फोहोर तिनाउ नदीको किनारमा पूल उतातिर फाल्ने व्यवस्था छ ।
धेरै कोशिश गरें छोराहरूलाई पढाउन सकिएन । तिनले मन पनि गरेनन् । अहिले जेठोले लुम्विनीमा झाडूपोंछा लगाउने काम गर्छ । कान्छो भर्खर १६ पुग्यो । उसले पनि यस्तै (फोहोर उठाउने) ठेला काम शुरु गरेको छ ।”
(बुटवल, रूपन्देही)