त्रीवेणी प्रसाद यादवको कथा

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार  ६ : २७


“भार्इ मारिएको एक साल हुन लाग्यो, अस्ती आमा रातभरी रुनुभयो । भाइ विहिबारकै दिन मारिएको थियो । मैले राती ३ वजे डाँक्टर ल्याएर औषधि दिएपछि वहाँ बल्ल सुत्नुभयो।”

१९ वर्षीय भाइ सुनील यादवको लाश डण्डा खोलामा भेटिएको खवर मलेशियामा रहेका त्रिवेणीप्रसाद यादवले २ दिनपछि मात्र पाए । आन्दोलन अनियन्त्रित भएपछि मोर्चाले सवै आन्दोलनकारीलाई वेलहिया नाका तर्फ प्रस्थान गर्न आह्वान गरेको रहेछ त्यो दिन । त्यहाँ आन्दोलनरत विरोधी समूहसङ्ग एउटा समूहसंग झडप भएको र सुनील लगायत कयौं आन्दोलनकारीमाथि खुकुरी प्रहार भएको रहेछ । खवर पाएको केहि दिनभित्रै त्रिवेणी मलेशियाबाट फर्कें ।

“मलेशियामा ढाई साल राम्रै पैसा आउने काम गरिरहेको थिएँ तर भाइ वितेपछि परिवारको रेखदेख र किसानीमा सहयोग गर्न यहिं वस्नुपर्ने अवस्था अाइपर्यो । मलेशियामा कमाएको पैसा लगानी गरेर मैले आमालाई दिन कटाउन सजिलो होस् भनेर एउटा सानो ट्याङ्की पसल शुरु गरिदिएँ नभए आमा खाली दिनभर रोएर वस्नुहुन्थ्यो।”

त्रिवेणी गाउँमै केहि गर्न चाहँदा रहेछन् तर शिक्षकजस्तो विशिष्ट पेशामा पनि महिनाको ५ हजारभन्दा वढी तलव उनको हातमा कहिल्यै परेन । १३ वर्षकै उमेरमा विहे गरेका उनका ३ बच्चाहरू छन् । छानाबाट पानी चुहिने घर पूनर्निर्माण गर्ने दायित्त्व पनि उनकै काँधमा आएको छ । बा आमालाई हेर्नुपर्ने त छँदैछ । त्यसैले उनले जागिर खानुको साटो ‘फ्यान्सी’ पसल थाप्ने सोंच बनाएका रहेछन् । सोका लागि पनि कम्तिमा ४-५ लाखको लगानी चाहियो जुन उनिसङ्ग छैन । विकल्पमा ट्याङ्की पसललाई नै सुधार गर्ने वा किराना पसल शुरु गर्ने संभावनावारे उनले विचार गरिरहेका रहेछन् ।

“कसैले ५ लाख पाईन्छ भन्थे, कसैले १० लाख तर भार्इ बितेको १ वर्ष भईसक्यो अहिलेसम्म सरकारबाट केहि पाईएको छैन । अब त १ वर्ष भईसक्यो दिने भए दिओस् नदिने भए नदिओस् । पैसा माग्न जाँदैनौं, कुनै नेताले केहि दिन अघि आएर ५-६ दिनमा पैसा आउँछ भनेको थियो । भाइ फर्केर आउँदैन, के गर्ने?”

हामीलार्इ अाफ्नै भाइसरी व्यवहार गरेर घरमा खाना खान स्वागत गरेका त्रिवेणीले भने यी कुरा भिडियोमा भन्न सङ्कोच माने।

“अव एक्लो छोरो बाँकी छु, घरका ‘गार्जियन्’ डराउँछन् । एउटा छोरो त गयो अर्को पनि…. डर छ । भिडियोमा बोल्यो भने पनि अभिभावकको चित्त दु:ख्छ, बरु फोटो खिच्नुहोस्, कुरा टिप्नुहोस्।”

(पकडिहवा, रूपन्देही)


प्रतिक्रिया दिनुहोस्