१० दिनअघिमात्र उहाँले नानी जन्माउनुभएकी रहेछिन्। त्यैपनि उहाँ खुशी हुनुहुन्न। उहाँको चेहरामा त्रास छाएको छ। हामीसङ्ग जेजसो कुरा गर्नुभयो मसीनो श्वरमा गर्नुभयो। एकपटक पनि शीर उठाएर कुरा गर्नसक्नुभएन उहाँले। उहाँ हुनुहुन्छ यशोदा साउद। पोहोरसाल भदौ ७ गतेको दिन टिकापुरमा उहाँको १८ महिने छोरो टेकवहादुर साउदको गोली हानी हत्या गरिएको थियो।
“आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गरेपछि भागाभाग मच्यो। अश्रु ग्याँस्हरू प्रहार हुनथाले। घरमा भएका सवैजना र उतापट्टीको घरका मान्छे यसै घरको कौसीमा जम्मा भएर सव हेरिरहेका थियौं। घटना भएको थाहापाएपछि काममा जानुभएको श्रीमान् (सशस्त्र प्रहरीका नेत्र साउद) तुरुन्तै घर फर्कनुभयो।
हाम्रो घर पछाडितिर केही घाइते भईसकेका प्रहरीहरू ज्यान वचाउन लुकेर वसिरहेका थिए। तिनले कामको क्रममा चिनेको भएर होला उहाँ (श्रीमान्) लाई देख्नेवितिक्कै ‘पानीपानी’ भनेर गुहार गर्नथाले। पानी माग्नथाले। मैले उहाँलाई भने पानी नदिनुहोस् फेरि आन्दोलनकारीहरूको नजर हाम्रो घरमा पर्छ। हामीलाई पनि नराम्रो हुनसक्छ। तर उहाँले मान्नुभएन। भनेकी सहयोग गरेको राम्रै हुन्छ। अगाडितिरवाट आउने अवस्था थिएन। हामीले घरपछाडितिर सीडी खसालेर तिनलाई भित्र ल्यायौं।
पछि स्थिति सामान्य भएपछि ती प्रहरीहरूलाई हामीले अस्पताल पठाउने व्यवस्था गर्यौं। उहाँ त्यतिखेर यहीँ अलि वाहिरतिर हुनुहुन्थ्यो। चोकतिर प्रहरीहरू पनि थिए।
वावुले आची भयो भनेर ईशारा गर्यो। अनि मैले वावुलाई यहीँ वाहिर छोडेर भित्र कपडा लिन गएँ। त्यत्तिकै वाहिर गोली चलेको आवाज आयो। दौडिएर वावुलाई हेर्नआउँदा यहीँ (दैलोमा) ऊ ढलिरहेको थियो। यता सव रगतैरगत थियो। गोली कसले हान्यो भनेर हामीले देखेनौं। तर गोली आन्दोलनकारी मध्यकैले हानेको हो। अरू कसले गर्छ र? पानी खुवाएको रिश वावुमाथि पोखेका हुन् तिनले।“
सारा परिवारमा टेकको मृत्युपछि नैराश्य छाएको रहेछ। घटनाको ६ महिनापछि नाती टेकवहादुरलाई असाध्यै मायाँ गर्ने हजूरआमाको त्यसै दैलोमा ‘हार्ट्अट्याक्’ भएर देहान्त भएको रहेछ। हृदयघात हुनु ठीकअघि उहाँले यशोदालाई टेकवहादुरलाई अघिल्लो दिन सपनामा देखेको कुरा वताउनुभएको रहेछ।
यशोदाको जीवन अहिलेपनि भदौ ७ गतेकै दिन अड्किरहेको प्रष्टसङ्ग देख्नसकिन्छ। उहाँले जत्ति प्रयास गरेपनि अहिलेसम्म अघिवढ्न नसकिरहेको वताउनुभयो।
“हामी त ठूलो मान्छे भयौं। हाम्रो कुरा त छोड्दिनु। ऊसङ्ग खेल्ने दिदी र फूपुका छोराछोरीले पनि अहिलेसम्म उसको वारेमा सोध्छन्। अनि दुःखी हुन्छन्। तिनलाई हामीले कसरी सम्झाउने?
एक वर्ष यत्तिकै विताईयो। दिनदिनै त्यहि कुरा सम्झेर। कसैले काम दिए म काम गर्नचाहन्छु। कुनै काम गरियो भने कमसेकम मनमा त यो कुरा आईरहन्न।“
यशोदा साउद
टीकापुर • कैलाली
टीकापुर • कैलाली
स्वदेश वचाउन #क्षमा #xamaa
काठमाडौँ-टीकापुर साइकल् यात्रा
काठमाडौँ-टीकापुर साइकल् यात्रा